जीवनी

कवि श्री सुब्बा
बिमल एक प्रखर कलिला युवा कविको रुपमा स्थापित नाम हो । उनको जन्म वि.सं. २०२८ साल कार्तिक १९ गतेका दिन हङकङको किङ्सपार्क अस्पतालको ओलुममा पिता पूर्णबहादुर गुरुङ र माता सरस्वती गुरुङको प्रथम सन्तानको रुपमा भएको थियो । उनको न्वारानको नाम पनि बिमल नै जुरेको थियो । बिचार र ब्यवहारिकताको हिसाबले पनि उनी नाम अनुरुप कै उदीयमान युवा प्रतिभाको रुपमा चिनिएका थिए ।

बिमलका बालापनमा केहि समयहरु र शिक्षा हङकङ कै गोर्खा आर्मी चिल्ड्रेन स्कुलबाट प्रारम्भ भयो । बि.सं. २०३६ सालमा माता-पिताका साथ नेपाल (धरान) फर्किएपछि बिमलले धरान-४ स्थित सेकेण्डरी बोर्डिङ स्कुलमा भर्ना लिई कक्षा ३ देखि एसएलसीसम्मको अध्ययन पुरा गरे । बि.सं. २०४३ सालको एसएलसी परिक्षा दिएपछि भने उनलाई औपचारिक शिक्षाप्रति बिमोह जाग्न थाल्यो । बि.सं. २०४४ सालदेखि उनले घरैमा स्वतन्त्र अध्ययन र लेखनमा लागे ।

साहित्य र दर्शनशास्त्रहरुको अध्ययनका साथै बिश्वबिख्यात ब्यक्तित्वहरुको जीवनी र कृतिहरु बारे मनग्गे जानकारी प्राप्त गरे । फलस्वरुप उनले राष्ट्रीय-अन्तराष्ट्रीय साहित्य र घटनाहरुका बारेमा कलिलै उमेरमा धेरै ज्ञान बटुलेका थिए । स्वदेशी साहित्यकारहरुमा मोदनाथ प्रश्रीत, खगेन्द्र संग्रौला, सञ्जय थापा, भूपि शेरचन, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, वीपी कोइराला, डायमण्ड शम्शेर बिमलका मनपरेका साहित्यकार हुन् भने बिदेशी दार्शनिक र साहित्यकारमा कार्ल मार्क्स, एंगेल्स, लु शुन, वार्तोल ब्रैख्त, चेखब, म्याक्सिम गोर्की, टैगोर, तोल्स्तोय, राहुल सांकृत्ययनका लेखनबाट प्रभबित थिए ।

बिमल अत्यन्तै स्वाभिमानी र स्वतन्त्रप्रेमी युवा थिए । उनी आफ्नो देशको माटो र जातिप्रति सदा गर्व गर्दथे । बहुसंख्यक शोषित पीडित जनताहरुको पक्षमा बोल्न र लेख्न सदा तत्पर रहन्थे । तिनीहरुकै लागि न्यायपूर्ण र सुन्दर भविष्य निर्माणमा लागिपर्ने अठोटका साथ कलम चलाउने गर्थे। सादाजीवन र उच्च बिचारका बिमलको जीवनमा खासै अभाव थिएन । तर उनले फजुल खर्च गर्ने सोँच कहिल्यै राखेनन् र साधारण लवाई खवाईमै रहन्थे । उनका सौखका बिषयहरु पनि सीमित थिए । एकाध मनपरेका फिल्महरु हेर्नु, प्रायश: क्यारम खेल्नु, कहिलेकाहिं छोटो दूरीका यात्राहरु गर्नु र प्रशस्त पत्र-पत्रीकाहरु पढ्नु बिमलका सौख थिए । कतिपल्ट त पत्र-पत्रीका किन्ने पैसाको अभाबमा छेमाको पैसा समेत चोर्ने गर्दथे । सो चोरीको पैसा असल कामकै लागि खर्च गरिरहेकाले खासै पछुतो नलागेको बताएका छन् । एक ठाउँमा उनले लेखेका छन् कि 'मूलत: चोरी खराब काम हो तर, सबै चोरी खराब हुँदैनन्' सम्बेदनशील अन्तरमुखि र कोमल हृदयका बिमल असहाय, दीनदुखि र गरिबहरुलाई देखेर द्रबिभूत हुन्थे । उनीहरुको दुख दूर गर्नलाई यथासक्य मद्दत गर्दथे । मूलत: बिमल साहित्य र कविताप्रेमी रहेको र कविता लेखनप्रति  बिशेष छख राख्ने हुनाले हरेक साहित्यिक कार्यक्रममा उपस्थित रहन्थे । आफ्ना सशक्त युवा अभिब्यक्तिहरु कबिता मार्फत प्रस्तुत गरेर श्रोता वर्गलाई चकित तुल्याउँथे । बिमलले आफू लगायत दौंतरी युवाहरुको साहित्यप्रतिको चाखलाई ख्याल गरि सोको प्रबर्द्धनका निमित्त उत्साहित युवा साथिहरुसित मिलेर धरान-१८ स्थित बुद्धचोकमा बि.सं. २०४७ सालतिर बुद्धवाचनालको स्थापना गरेका थिए । त्यसपछि सोहि वाचनालय मार्फत बिमलकै सम्पादनमा बि.सं. २०४७ साल मंसिर २५ गतेका दिन 'ईंटा' नामक हस्तलिखित भित्तेपत्रीकाको प्रकाशन समेत शुरु गरेक थिए । ईंटाको प्रकाशनले बि.सं. २०४७ फाल्गुन २५ गतेसम्म निरन्तरता पायो र यस पत्रीकाको जम्म १५ अंकसम्म प्रकाशित छन् । यसैबिच २०४७ साल माघ १५ गतेका दिन खाडी नामक हस्तलिखित भित्तेपत्रीकाको एक अंक पनि प्रकाशित भएको छ, जो तत्कालीन खाडीयुद्ध सम्बन्धमा रहेको छ । ईंटामा प्रकशित लेख र कबिताहरु स्थनीय अग्रज साहित्यकारहरुद्वारा मूल्याङकन गराई पुरस्कृत गर्ने चलन समेत थियो ।

बिमलले जम्माजम्मी १९ बर्ष ६ महिनाको अल्पायु बांचेथे । १५-१६ बर्षको उमेर देखि नै साहित्यलेखन तर्फ अग्रसर बिमलले प्रसस्त कबिता, लेखरचनाहरु दिएर गएका छन् । डायरीका माध्यमबाट आफ्ना बिचार र भावनाको प्रकाशन समेत गरेका छन् । उनका सम्पूर्ण सृजनाहरुको बिधागत संगालो निकाल्ने हो भने थप ४/५ वटा संग्रह निकाल्न सकिन्छ । बिमल कहिलेकाहिं उपनामबाट पनि अभिब्यक्तिहरु प्रस्तुत गर्दथे र बिशेष समाचारपत्रहरुम रेपोर्टिङ गर्दा वा प्रतिकृयाहरु छपाउनु पर्दा 'सर्बेक्षण' नामबाट छपाउने गर्दथे । यहि उपनामबाट एउटा 'शर्त' शिर्षकको कबिता मार्फत एउटी युवतीलाई अगाध प्रेम र श्रद्धा ब्यक्त गर्दै आफ्ना आँखाका नानीहरुभित्र उच्च आसनमा ठाउँ दिएका छन् । परन्तु आगामी जिन्दगीको सहयात्रामा ती युवतीभित्र निहित संकल्प र छबिचाहिं बिन्नी मण्डेलाको जस्तै हुनुपर्ने शर्त बिमलकी मानसी प्रेमिका हुन् वा यथार्थमै थिइन् यो सबैको लागि उत्सुकताको बिषय बन्न सक्छ । यथार्थमा बिमल आफूलाई स्वनामधन्य ब्यक्तिको रुपमा परिचित गराउन चाहन्थे । त्यसैले एसएलसी पासगरि क्यामपस पढ्नै पर्ने खांचोलाई महत्व दिएनन् । बरु बिश्वबिख्यात बन्ने सपना संगाली स्वतन्त्र अध्ययन र साहित्यलेखन तर्फ आफूलाई समर्पित गरे । उनले डायरीको पान्नाभित्र आफ्नो महत्वकांक्षा यसरी दर्साएका छन् - "बिश्वबिख्यात हुन म चाहन्छु, म चाहन्छु एकदम ।" साहित्यलेखन तर्फ कबिता लेखन उनको सर्बप्रीय बिषय नै थियो र लेख निबन्ध तर्फ पनि बिशेष रुचि थियो । बि.सं. २०४६ साल बैसाख १ गते धरान जेसिसद्वारा आयोजित प्रतियोगितात्मक कबिता गोष्ठीमा उनको कबिता 'एक किलो जङ्गल' प्रथम भएको थियो । यसै गोष्ठी मार्फत बिमल भित्र द्रुततर गतिमा मौलाउँदै गइरहेको कबि ब्यक्तित्वलाई नजिकै बाट धेरैले सुन्ने र जान्ने अवसर प्राप्त गरेका थिए । बिमलको मृत्युपनि उनकै स्मृतिमा मातापिताबाट स्थापित स्व. कवि बिमल गुरुङ स्मृति पुस्तकालयले 'ईंटा' पत्रीकालाई निरन्तरता दिनका लागि पुस्तकाकारको रुपमा छाप्ने कार्य गरिआएको छ । पुस्तकालयकै तर्फबाट स्व बिमल गुरुङका केहि चुनिएका कबिताहरुको संग्रह 'आगो बल्छ' शिर्षक दिएर बि.सं. २०४९ साल बैशाखमा प्रकाशित गरेको छ । यस संग्रहभित्र एक किलो जंगल, देशमा कर्फ्यू लागेको छ, ब्रुनाईबाट आमा आएपछि, बुद्ध, लेखिराख्नोस् नोटबुकमा र ड्रयाकुला शिर्षकका कबिताहरु निकै चर्चित छन् ।

अभिब्यक्ति प्रस्तुत गर्ने क्रममा बिमल कबिता तर्फ जीवनबादी र प्रगतिबादी देखिन्छन् भने गद्य रचना र लेखन तर्फ उनी हक्की र केहि आक्रमक देखिन्छन् । उनका लेखहरु जस्तै - संयूक्त राष्ट्र संघ शैतान अमेरिकाको एक बिश्वासिलो मतियार, सेता रामकी पत्नी होइन बहिनी हो र भगवान श्रीकृष्णको बिरोध जस्ता लेखहरु पढेमा बिचार उत्तेजक र रोमाञ्चक लाग्दछन् ।

बि.सं. २०४७ सालदेखि यता भने बिमलले राजधानीमा प्रबेश गर्ने सुर कसे । सायद आफ्ना अभिब्यक्ति र बिचारलीई पाठक सामु पस्कन फाँटिलो क्षेत्रको आवस्यकता महशुस भएर हुन सक्छ वा पत्रकारिता तर्फ बिशेष चाख रहेकोले पनि हुनसक्छ उनी धरानबाट काठमाण्डौ लागे । काठमाण्डौमा बिमलले दृष्टि र छलफल साप्ताहिक पत्रीकामा समिक्षात्मक लेखहरु पनि प्रकाशित गर्दथे । र, कविता, लेखहरु पनि बिभिन्न पत्र-पत्रीकाहरुमा छपाउने गरेका थिए । दृष्टि सापताहिकमा प्रकशित 'लेनीनको सालिक ठल्दैछ गाडिंदैछ' र 'सन्तको वस्त्रमा रगतको छिटा' खुल्बुली मच्याउन सफल भएको थियो भने सहकर्मीहरु उनीभित्र निहित त्यो बेजोड क्षमता देखेर तीनछक्क परेका थिए ।

बिमल राजनितिक रुपले पनि निकै सजक थिए । वामपन्थी बिचारधाराका कवि बिमल नेकपा(एमाले) प्रति आस्थावान राजनितिककर्मी पनि थिए । उनी २०४६ सालको भूमिगत आन्दोलनका गोप्य बैठकहरुमा र पञ्चायत बिरुद्धको र्‍याली र पुत्ला जलाउने कार्यमा सरिक भएका थिए र जेल समेत परेका थिए । उनले आन्दोलनकालीन कविताहरुको एउटा बेग्लै संग्रह डायरी पनि तयार गरेका थिए ।

बिमल काठमाण्डौंमा कार्यरत रहिरहेको समय र उनको लेखनीले अग्रगति लिएरहेकै बेला बि.सं. २०४८ सालको प्रथम आमनिर्बाचनमा नेकपाको पक्षमा जनमत जुटाउने हेतुले आमा र छेमासित गृहनगर धरान फर्कंदै गर्दा २०४८ साल बैशाख २४ गतेका दिन धादिङ जिल्लाको जुकेपानी भन्ने ठाउँमा बस दुर्घटनामा परी बिमलको दुखद निधन भयो । यसरी एक सचेत, निर्भिक र प्रखर युवा प्रतिभालाई असमयमै गुमाउनु पर्‍यो । यद्यपि बिमल सबैका माझ अनुकरणीय प्रेरणाको स्रोत रहिरहने छन् र प्रगति काब्यसाधनाको क्षेत्रमा एक अविस्मरणीय र अमिट कलिला युवा प्रतिभाको रुपमा बाँचिरहने छन् ।

(नोट: स्व कवि बिमल गुरुङ स्मृति पुस्तकालयद्वारा नियमीत रुपमा प्रकाशन गर्ने 'ईंटा' पत्रीकामा श्री सुब्बा ज्युले बिमलको जीवनी प्रकाशित गर्नुभएको हो ।)