समर्पित आँशुका कणहरु

चन्द्र गुरुङ
छोराको यादमा समर्पित आँशुका कणहरु
- चन्द्र गुरुङ 

“म आएँ, मैले देखेँ, तर मैले जितिनँ, मात्र हारेँ ।”
(सरुभक्त, २० कार्तिक २०५६)


सायद, कवि विमल गुरुङ्ग स्मृति पुस्तकालयमा आइपुग्ने जो कोही साहित्यानुरागी स्रष्टा, पाठक, शुभचिन्तक र अन्य थुप्रैले वरिष्ठ साहित्यकार सरु भक्तझैं नै अनुभव गर्दा होलान् । किनभने मैले पनि यो पुस्तकालयमा पहिलो चोटी २०६४ साल कार्तिक ९ गते पुग्दा त्यस्तै अनुभव गरेँ । केही लेखक मित्रहरुका पुस्तक “विमल स्मृति पुस्तकालय”मा पुर्‍याउने जिम्मा पाएको थिएँ । त्यसकारण कार्तिक ९, २०६४ शुक्रबारको दिन बुद्घचोक, धरान-१८ पुगेँ र भेटेँ स्वर्गीय कवि विमलगुरुङ्गका बुवा भूपू सैनिक पूर्णबहादुर गुरुङ्गलाई । त्यहाँ पुगेर अनुभव भयो कि यो पुस्तकालय, अकालमा मृत्युवरण गरेका प्रतिभावान् युवा कविको सम्झनामा स्थापित पुस्तकालय मात्र होइन रहेछ, बरु यो त कुनै बा-आमाको आफ्नो एक्लो छोराप्रतिको असीम माया ममताको नमुना रहेछ र एउटी बहिनीले आफनो दिवंगत दाइको यादमा कसेको स्नेहको बन्धन रहेछ । यो पुस्तकालयमा बुवा पूर्णबहादुर गुरुङ आफ्नो छोराको नाममा समर्पित आँशुका कणहरु दुर्इ आँखाका कुनाहरुमा राखेर (लुकाएर) जीवनरुपी गाडी कुदाउँदै प्रत्येक दिन ओहोर-दोहोर गर्नुहुन्छ । आमा सरस्वती गुरुङ्ग आफ्नो हृदयभरि ममताको विशाल सागरलाई शान्तिपूर्वक सम्भाल्दै र छोरोको यादलाई सजाउँदै यही पुस्तकालयको वरिपरि बाँचेकी छन् । साथै, थुप्रै मित्र र पाठकहरु आज पनि विमलको यादलाई ताजा गर्न र आफ्नो ज्ञानको भोक मेट्न यहाँ आइपुग्छन् । यहाँ आएर मैले थाहा पाएँ कि यसप्रकार थुप्रै जीवनहरुमा युवा कवि विमल बाँचिरहेका छन् र विमलको विगतको सहाराले अन्य थुप्रैहरु बाँचिरहेका छन् । सायद विमलकै कविताहरुले यी परिवारजन र परिचितहरुलाई उनी बेगर पनि बाँच्ने शक्ति प्रदान गर्दै छन् कि !


‘मेरो मृत्युबाट तपाईं पुत्रविहीन हुनुहुनेछैन
तपाईंका हजारौं छोराहरु छन्
तपाईंलाई कसले भन्छ
पुत्रविहीन हुन लाग्नु भएको छ !’
(मृत्युशैयाबाट)


बुवा पूर्णबहादुर गुरुङले आफ्नो जीवनभरि कुनै साहित्यिक सृजना गरेका थिएनन् र साहित्यप्रति कुनै लगाव पनि थिएन तर आफ्नो एक्लो छोरोको निधनपछि गुरुङ परिवारले साहित्यको लागि धेरै गर्न भ्याएका छन् । विमलको निधनपछि पुस्तकालयको स्थापना, विभिन्न व्यक्ति र स्रोतमार्फत पुस्तकको संकलन र सबैभन्दा महत्वपूर्ण त पुस्तकालयको निरन्तर संचालन गर्दै छन् । विमल स्मृति पुस्तकालयले प्रत्येक वर्ष विशेषरुपले विमलकै जन्मोत्सव पारेर कार्तिक १९ गते विभिन्न शैक्षिक, साहित्यिक र अन्य रचनात्मक कार्यहरु सञ्चालन गर्दै आइरहेको छ । पहिलो भेटमा नै बुवा पूर्णबहादुरले मलाई पुस्तकालयसम्बन्धित धेरै जानकारीहरु दिनुभयो । गुरुङपरिवारले पुस्तकालयलाई निकै जतन र मिहिनेतका साथ संचालन गरिआएको रहेछ । पुस्तकालयमा विभिन्न विधाका हजारौं पुस्तकहरु छन् र त्यहीं बसेर पढ्नको लागि राम्रो व्यवस्था पनि छ । सबैभन्दा बिर्सिन नसकिने विशेषताचाहिं विमलका बाआमाको मन नै छुने खालको मायालु व्यवहार पाएँ । त्यस दिन साँझ, छुटि्टने बेला वहाँले मलाई विमलको कवितासंग्रह ‘आगो बल्दैछ’ को एकप्रति कोशेली स्वरुप दिनुभयो । त्यसपछि दुर्इ-तीन दिनसम्म त्यो कवितासंग्रह मेरो साथमा रह्यो । कलिलो कविको परिपक्व कविताहरुमा डुब्ने मौका पाएँ । मैले विमलका सबै कविताहरु पढें, धेरैचोटि पढें । प्रत्येक कविताले त्यसताकाको देश र समाजलाई सजीव तुल्याउँदै थियो । कविताका शब्दशब्दले विमलको चरित्रबारे वर्णन गरेका छन् । विमलका कविताहरुले नै उनको छोटो जीवनलाई सहीरुपमा बोलेकोझैं लाग्यो ।


‘पानीहरु कहिल्यै सकिंदैनन्
आकाशबाट
पानीहरु
फेरि परिरहन्छन् ।’
(पानी)


त्यस्तै लाग्यो मलाई विमलको जीवन र कविताहरु । पक्कै कहिल्यै सकिने छैनन् विमलका यादहरु धेरै-धेरै मुटुबाट । विमल आफ्नो बुवा-आमाका एक्लो सन्तान थिए र बुढेसकालको सहारा पनि । तर आफ्ना बुवा-आमाले बुढेसकालको संघारमा टेक्नु अघि नै बस दुर्घटनामा २४ वैषाख २०४८ मा सानै उमेरमा उनको दुःखद निधन भयो । तर आज पनि विमलले त्यहाँ बुद्घ चोकको वरिपरि, पुस्तकालयको यता-उता आफ्नो उपस्थिति दिइरहेकोझैं लाग्यो मलाई । विमल गुरुङ्गको जन्म २०२८ साल कार्तिक १९ गते हङकङ्गमा भएको थियो । लेखनमा १७/१८ को उमेरमै विमल गुरुङ भावना र विचारमा पूर्णरुपले परिपक्व देखिन्छन् । राजनैतिक र सामाजिक विकृतिहरुका विरुद्घ कलिलो उमेरमा नै विमलले आफ्ना कविताहरुमा कडा प्रहार गरेका छन् । विमलका कविताहरु जस्तै- “एक किलो जंगल, रुखमा निद्रा पाकेको छैन, बुद्घ, ड्राकुला, आगो बल्दैछ, केही हाइकुहरु, आजकल मेरो देशमा कर्फ्यू लागेको छ, कुकुरहरुले तारा समाते, ब्रुनाइबाट आमा आएपछि” आदि कविताहरु पढेपछि नेपाली साहित्यिक आकाशबाट निकै चम्किलो तारा बिलाएको आभास हुन्छ । आज अवश्यै पनि विमलको अभाव उनलाई चिन्ने हरेक मुटुमा खट्केको छ । विमल कवितातर्फ क्रान्तिकारी र प्रगतिवादी देखिन्छन् । सम्वेदनशील र कोमल हृदयी कवि विमल असहाय, दीनदुःखी र गरिबहरुलाई देखेर मर्माहत हुन्थे । निम्न कवितांशले यो कुरालाई प्रस्ट पारेको छ ।


‘म अब एक किलो जंगलको कविता लेख्छु
म अब चोटपटकको कविता लेख्छु
चौधरी साहेब !
म अब तपाईंकै विरोधमा कविता लेख्छु ! ! !’
(एक किलो जंगल )


विमल जहिले पनि सामाजिक न्याय, वर्गीय स्वतन्त्रता र प्रजातान्त्रिक हक-अधिकारका क्षेत्रमा उभिन्थे । उनी अत्यन्त स्वाभिमानी र स्वतन्त्रप्रेमी युवा थिए । उनी आफनो देशको माटो र जात्रि्रति सदा गर्व गर्दथे । बहुसंख्यक शोषित पीडित जनताहरुको पक्षमा बोल्न र लेख्न सदा तत्पर रहन्थे । तिनीहरुकै लागि न्यायपूर्ण र सुन्दर भविष्य निर्माणमा लागिपर्ने अठोटका साथ आफनो कलम चलाउने गर्दथे । सायद, गरिबहरुको पक्षमा कलम चलाउँदा विमललाई अत्यन्त खुशी प्राप्त हुन्थ्यो र उनले यसलाई नै आफनो कर्तव्य पनि ठानेँ ।


‘सबभन्दा गौरव त यो छ कि
मेरो कलम
हरेक मुठभेट्मा रातसँग झगडा गर्छ ।’
(कलम)


स्वर्गीय कवि विमल गुरुङ्गको सम्झनामा स्थापित “विमल स्मृति पुस्तकालय” बुद्घचोक, धरान-१८ मा अवस्थित छ । प्रतिभावान विमलको यादमा उनका बुवा पूर्णबहादुर गुरुङ्ग, आमा सरस्वती गुरुङ्ग र बहिनी शान्ति गुरुङ्गले विमलकै जन्मदिन पारेर २०४८ सालमा कार्तिक १९ गते साहित्यकार मोदनाथ प्रश्रितको करकमलबाट “विमल स्मृति पुस्तकालय” को समुद्घाटन गराए । २०४२ सालतिर स्वर्गीय विमल लगायत बुद्घचोकका सक्रिय युवाहरुले “बुद्घ वाचनालय” नामक संस्था स्थापनागरी वाचनालयको मुखपत्रको रुपमा विमल नै संस्थापक सम्पादक रहेको साहित्यिक हस्तलिखित पत्रिका ‘इँटा’ प्रकाशन गर्थे । पुस्तकालय स्थापना पश्चात यस पुस्तकालयको वार्षिक प्रकाशनको रुपमा सोही ‘इँटा’ पत्रिकालाई निरन्तर प्रकाशन गर्दै आइरहेको छ । अहिले पुस्तकालयमा लगभग ६००० पुस्तकहरु रहेका छन् । हालै साहित्यिक कार्यक्रमहरु संचालन गर्न १००-१५० जना अटाउने एउटा हलको निर्माण गरिएको छ ।


अन्तमा, पूर्णरुपले फुल्ने क्रममै विमलले यो संसार त्याग्नु पर्‍यो । तर मरेर गए पनि उनका सृजनाहरुमा विमल अजम्मरी बनेर बाँचिरहेका छन् र उनका लेख रचनाहरु हामी माँझमा र थुप्रै स्रष्टा र युवाहरुमा प्रेरणाको स्रोत बनेका छन् । विमलले आफ्नो छोटो जीवनकालमा दशौं डायरीहरुमा सैकडौं कविता र अनेकौं निबन्धहरु लेखेका छन् । विमलको मृत्युपछि उनका केही कविताहरुलाई समेटेर ‘आगो बल्दैछ’ संग्रह प्रकाशनमा ल्याइएको थियो । विमलले हाम्रा निम्ति असंख्य लेख र रचनाहरु छाडेर गएका छन् । अझै थुप्रै कविताहरु पुस्तकको रुपमा बाहिर आउनु बाँकी नै छन् । विमलका बाँकी लेख र रचनाहरुलाई क्रमशः प्रकाशन गर्दै लानु हाम्रो कर्तव्य हो । किनभने विमलका कविताहरुमा हाम्रो नेपाली समाजको सही चित्रण थियो । उनले हाम्रो वरिपरिको अशान्ति, भोक र रोगलाई आफ्ना लेख र कविताहरुमा प्रशस्त स्थान दिएका थिए । उनको सपना नै यस्ता विकृतिहरुबाट मुक्त नेपाली समाजको थियो । तर आजको सन्दर्भमा विमलका सपनाहरु अधुरै छन् । हामीले एउटा राम्रो समाज र सुन्दर देशको निर्माण गर्न सकेको अवस्थामा स्वर्गीय विमलप्रति सच्चा श्रद्घाञ्जली हुने छ ।