लेखिराख्नोस् नोटबुकमा

- स्व बिमल गुरुङ


तिमीहरु
घामको
बदनाम गर्दछौ
यो आधारातमा तिमीहरु
पूर्बेली डांडाहरुमा अग्ला पर्खाल हालिरहेछौ
तिमीहरु
खण्डहरुबाट घाम निकाल्न
खण्डहरु भित्र पसिरहेका
साहसीहरुलाई जेलको चार पर्खालभित्र कैद गरिरहेछौ
तिमीहरु
मिरमिरेलाई घुस दिएर
घर फर्काउने मेलो सोचिरहेछौ
तिमीहरु
पूर्बेली डांडाहरुम
तोपहरु सजाएर
उदाउने सम्भाबित घामतिर सोझाइरहेछौ
तर, ओ गलीगांठहरु !
घाम त तोपहरु भन्दा पनि प्रखर हुन्छ
घामबाट निस्कने
किरणपुञ्जहरु त तोपका गोलीहरु भन्दा पनि
मर्मान्तक हुन्छन् ।

पूर्बेली डांडाहरुमा अग्ला पर्खालहरु हाल
फलामका अग्ला भित्ताहरु हाल
तर, घाम त
तिमीहरुले हालेका
अग्ला पर्खालहरु भन्दा पनि
अग्लो हुन्छ
तिमीहरु सब, ब्यर्थ- ब्यर्थका प्रयासहरु गरिरहेछौ
तिमीहरु
एकदम
क्षणिक-क्षणिक सफलताका
मुर्खताहरु गरिरहेछौ
तिमीहरुले
माफै गर्न नसकिने
बिभत्स पापहरु गरिसकेका छौ
त्यसैले, घाम उदाउनु अब निश्चित छ
त्यसैले तिमीहरुको समाप्ती अब पक्का छ ।

घाम त
कोठाका अग्ला बारहरु भन्दा पनि
अनन्त माथि हुन्छ
घाम त
फलामका भित्ताहरुभन्दा पनि ज्वलन्त बलवान हुन्छ ।

घाम अब उदाउंछ
कसैले रोकेर रोकिंदैन
रात अब निदाउंछ
कसैले बचाएर बच्दैन ।
सबैको एउटा समय पो हुन्छ !
रात अब बुढो भइसक्यो
रातले जन्माएको
घाम जवान हुदैछ
लेखिराख्नोस्, नोटबुकमा !
हेर्नोस् त !
नदी किनारमा जुन मान्छेहरु छन्,
तिनीहरुलाई माझी दाईले पारी तार्नेछन्
जवान छोराछोरीले बुढो रातलाई मार्नेछन् ।

(०४६/९/१४)

No comments:

Post a Comment