एक किलो जंगल

- स्व. बिमल गुरुङ

अब मुद्दाको कविता लेख्न लागेको छु
बर्षौं - बर्ष देखि
आकाशतिर नियाल्दै
आफ्नो शुरमा
आफ्नै सुसाहट बोकेर
बगिरहेकी बगिरहेकी
दुधकोशीको तिरमा बसेर
लेख्न लागेको छु, लेख्न बसेको छु
फांसीको - फंन्दाको
कविता लेख्न लागेको छु ।

~

तीन त्रिलोक, चौध भुवनको
समस्त फूलबारीहरुको
अपुर्ब ब्याख्या गर्दै थाकका थाक लेखे कबिहरुले
कबिहरुले महलमा बसेर
पृथ्वीका सुन्दरी अप्सराहरुका
हाउभाउ र कटाक्षका कबिता लेखे
कबिहरुले समुन्द्रका कबिता लेखे
कबिहरुले झरनाका कबिता लेखे
धकै नमानी
कबिहरुले
दाउरे दाईले बनजांचको आखा छलेर
बनबाट ल्याएको दाउरले पकाएको खाना खाईरहे
क्रमश:
टेबुलमाथि
ब्राण्डी/भ्याट-६९ र स्कचका बोतलहरु लडिरहे
लडिरहे
ओंठमा याक जलिरहे जलिरहे
एष्ट्रेमा मोर निभिरहे निभिरहे
कबिहरुले दाउरे दाईको भोक-प्यास-सपनाको
कबिता लेखेको कसैलाई थाहा भएन
यसैले, म बाध्य छु तलबवाला कबिहरु !
म अब गोलभेडाको कबिता लेख्छु
म अब तिर्खाको कबिता लेख्छु
म अब न्याउरी मुसाको चाहनाको कबिता लेख्छु
म अब बेसी फुर्सद पाएर बैशले पात्तिएका
महाजनहरुका छाउरा/छाउरीहरुका खिल्ली उडाउंदै कबिता लेख्छु ।

~

कबिहरुले
खोलाका एकनास-एकनास धुनहरुका कबिता लेखे
कबिहरुले
चांप/लालीगुराँस/ सुनगाभा र सयपत्रीका कबिता लेखे
कबिहरुले
आफ्नै बहिनीको चोलो च्यात्ने
मालिक साहेबको जयजयकार गर्दै कबिता लेखे
मालिक साहेबलाई रिझाइबक्सन
कबिहरुले स्तुति र गुणगानका कबिता लेखे
कबिहरुले भक्ति र प्रसंशाका कबिता लेखे ।

~

मैले यो भन्नै पर्छ कि
मलाई थाहा छैन
कबिहरुले एकपक्षीय अत्याचारको बिरुद्धमा
युद्धका कबिता लेखेर
साँझमा निस्कने मान्छेहरुका जमातमा गएर सुनाएको थाहा छैन ।

~

हजुर रिसाउनुहोस या खुसाउनुहोस
अर्थात
खुसाउनुहोस् या
रिसाउनुहोस चौधारी साहेब !
म अब झण्डै झण्डै बाध्य जस्तो भएको छु
दुख नमान्नुस है चौधरी साहेब !
खटिया माथिको मसीको बट्टामा
पाँच हजारवटा आकाश राखेर
अनि शिरमा चट्ट एउटा रुमाल सिउरेर
म अब टक्करको कबिता लेख्छु ।

~

म अब झिल्काको कबिता लेख्छु
लेखेनन् कबिहरुले
फस्टेको पाठशालाको शुल्कबारे कहिल्यै लेखेनन्
कबिहरुले
हैजाले सात दिनदेखि ओछ्यानमा परेको
रातेको बिरामी बुबाको अबर्णणीय कष्ट कहिल्यै देखेनन् ।

~

कबिहरुले
केवल सम्राटहरुको दु:खका कबिता लेखे
कबिहरुले
केवल
सम्राटहरुका आनन्दका कबिता लेखे ।

~

कबिहरुले
केवल सुन्दरीहरुसंग नारिएर नाच्दा आउने
उत्तेजनाका कबिता लेखे
कबिहरुले केवल सिताको पतिप्रेमका कबिता लेखे
कबिहरुले
केवल, सेतो टिनको छाना माथि
टुक्रुक्क लौरो टेकेर बसेको
स्वास्नी कुट्ने
आयोतुल्ला खुमेनीको प्रफुल्ल आँखाका कबिता लेखे ।

~

कबिहरुका हात
कहिल्यै रातेको बाबुको दु:खको कबिता लेख्न चल्मलाएनन्
कबिहरुका हात
कहिल्यै रातेको बाबुको पसिनाको कबिता लेख्न चल्मलाएनन् ।

~

चौधरी साहेब !
म अब हजुरलाई रातको रगना सकेर
सधैं झैं
रामायणको उत्तरकाण्ड/ बालकाण्ड र
इत्यादि, कुन्नि के के काण्डहरु पढेर सुनाउन सक्तिन
म अब संधै झैं
हरेक बर्ष स्वस्थानीको ब्रतकथा पढ्न पनि सक्तिन
म अब हजुरको
त्यो कालो हरहिसाब मिलाउन पनि सक्तिन ।

~

चौधरी साहेब !
साँच्ची, नरिसाउनुहोस है !
म अब रातेको बुबाको पिडाको कबिता लेख्छु
म अब माटोको कबिता लेख्छु
स्वात्त ...!
अगेना भित्र पसेर
म अब एक किलो जंगलको कबिता लेख्छु
म अब चोटपटकको कबिता लेख्छु
चौधरी साहेब !
म अब तपाईं कै बिरुद्धमा कबिता लेख्छु !

~

म अब जनई भिरेको ब्राम्हणले
सार्कीको होटेलमा पसेर
सुंगुर्/रांगो/भंसी/सर्प र
भ्यागुताको मासु
पड्काएको कबिता लेख्छु
म अब
गिंठा र भ्याकुरको कबिता लेख्छु
म अब
चिप्लेभेण्टीको कबिता लेख्छु ।

~

समुन्द्र पारीको धावामा
मरेका आफ्ना छोराहरु सम्झदै
अनुहारका आकाशभरि पिडाका घाउहरु बोकेर
थुप्रै आमाहरु
आँगनमा
मुर्छा परिपरि रोएको मैले देखेको छु
म त्यसैको कबिता लेख्छु !
म अब त्यसैको कबिता लेख्छु !
हो म अब त्यसैको कबिता लेख्छु !

(२०४५/११/२१)

No comments:

Post a Comment