रेलगाडी

- स्व बिमल गुरुङ


घरबार छोडेर
गाउँमा बसेर
जनताको लागि काम गर्ने
नदीहरुलाई
मेरो अशेष प्यार !

खुकुरीको धारमा उभिएर
बलिदान हुन तयार
धर्ती हराबरा बनाउने
सपना बोकेर
हुरीझरी चिर्दै अगाडी बढिरहेका
रेलगाडीहरुलाई
मेरो सम्झना ।

भोक खाएर
तिर्खा पिएर
आफ्नो दुब्ली पत्नी
र अलपत्र बालबच्चाहरुको याद
झोलामा हालेर
मरुभूमिको बालुवै बालुवामा हिंडिरहेका
दयालु यात्री !
तिमीलाई मेरो शुभकामना !

घरिघरि चिसो जून आँखाभित्र राख्दै
आकाशमा झलमल्ल ताराहरु हेर्दै
बर्षौदेखि जेल परेका आफ्ना मित्रहरु संम्झदै
भत्केको मन लिएर
चिसो गोरेटोमा हिंडिरहेका
पर्बतारोहीहरुलाई
म मार्फत मायाको अलिकति आँसु ।

आफू दुख सहेर अरुलाई सुख दिन खोज्ने
आफू मरेर अरुलाई बचाउन चाहने
आनन्द मानेर गरीबको नानीसङ्ग हाँसखेल गर्ने
अक्सिजन नबोकी चन्द्रमा बिचरण गर्ने
हिम्मती मान्छेहरुलाई, मेरो सबिनम्र ढोग !

No comments:

Post a Comment