सूर्यतिर

हामीले जित्यौं
मलाई आशा थियो
हामी जित्नेछौं/हामीले जित्यौं ।

एक भएर उठेमा औंलाहरु
हामी कुनै पनि काम गर्न सक्छौं
हामीले सक्यौं/एक भएर
हामी बर्षा बर्षियौं भने
हामी मेघ गर्जाउन सक्छौं
हामीले सक्यौं/ एक भएर
हामी बाढी ओइरियौं भने
हामी निरंकुश खेत कटान गर्न सक्छौं
हामीले सक्यौं/ एक भएर
हामी सिंह गर्जियौं भने
स्कुल जांदा संधै हाम्रो पैसा खोस्ने
बिष्णु र राजकुमारहरुलाई
लुत्रुक्क पारेर नतमस्तक बनाउन सक्छौं
र, सक्छौं
उसलाई कहिल्यै पैसा खोस्न नसक्ने बनाउन
एक भएर - हामी
छुरी चम्कियो भने
आलु, भेण्टा
र कोपीहरुलाई दुई फ्याक पार्न सक्छौं
हामीले सक्यौं ।

तर -
हामी यत्तिमै सन्तुष्ट कसरी हुन सक्छौं
तर, म यत्तिमै सन्तुष्ट कसरी हुन सक्छु
यत्तिमै ब्युँझेका वीरहरु कसरी सन्तुष्ट हुन सक्छन्
हामीलाई त उज्यालो चाहिएको छ, उज्यालो
हामीलाई त सम्पुर्ण मुक्ति चाहिएको छ, सम्पुर्ण मुक्ति
हामीलाई त
सूर्यको
नरम, स्निग्ध र मनतातो स्पर्श चाहिएको छ
बिहानी पखको
नरम, स्निग्ध र मनतातो स्पर्श ।

अहिले त मिरमिरे मात्र भएको छ
अहिले त बहुदल मात्र आएको छ
हामीलाई मिरमिरे मात्र पर्‍याप्त छैन
हामीलाई त सम्पुर्ण उज्यालो चाहिएको छ
सम्पुर्ण उज्यालो ।

हाम्रो 'देवासुर संग्राम' यत्तिकै टुंगिदैन
हाम्रो युद्ध त यत्तिमै रोकिंदैन
हाम्रा कलमहरु बढिरहन्छन्
नीवबाट बज्रहरु हान्दै अझै
अखवारका पानाहरुमा
हाम्रा लेखकहरु/कविताहरु/समाचारहरु
आकाशहरु हल्लाउंदै निस्किरहन्छन् अझै
जबसम्म कराहीमा
पौने दुई करोडको लागि तरकारी पाक्दैन
जबसम्म
कसौंडी माथिको थाललाई
बाफले उँभो घचेट्दैन
जबसम्म
सुतेको चिसो अगेना
आगोको रापले अत्तालिएर
भान्सा घरबाट भाग्दैन
साईली, माईली र काईली
ध्वान्द्रो पेटमा पटुका कसेर भएपनि
नानीलाई दुध खुवाइरहन्छन् ।

हाम्रो 'देवासुर संग्राम' यत्तिकैमा टुंगिदैन
हाम्रो युद्धता यत्तिमै रोकिंदैन
बढ्छ
अझ अघि बढ्छ
जबसम्म उज्यालो हुंदैन
जबसम्म रातो सूर्य उदाउँदैन
बढ्छ
अझ अघि बढ्छ सूर्यतिर ।

(०४६/१२/२७)

No comments:

Post a Comment