म चक्रब्यूह तोड्छु

- स्व बिमल गुरुङ


आकाश मौन छ
पहाडहरु उदास छ्न्
पहाडहरु ब्युझनुपर्छ
यहाँ युद्धको राँको बल्नु पर्छ
रथका पाङ्ग्राहरु अपाङग छन्
म रथका पाङ्ग्राहरु जोड्छु
म चक्रब्यूह तोड्छु ।

अभिमन्यु असफल भयो त के भयो?
कृष्णका मुर्ति टुक्रा टुक्रामा छरिएका छन्
नदीहरु चुपचाप-चुपचाप बगिरहेछन्
हुनु भएन यस्तो
नदीहरु नारा बोकेर सडकमा हाम फाल्नु पर्‍यो
नदीहरु झण्डा बोकेर
मुल बाटोमा निस्कनु पर्‍यो
म नदीको यो मौनता । मौनता तोड्छु
म चक्रब्यूह तोड्छु ।

एकलब्य बाण लागेर
रणभूमिमा पछारिएको देख्न चाहन्छु
म, दुर्योधन टाउकोमा राइफलको गोली लागेर
ढुन्मुनाएको हेर्न चाहन्छु
म, कौरबहरुलाई आफ्नै घोडाका टापहरुले
कुल्चेको हेर्न चाहन्छु
चक्रब्यूह तोड्न, म कृष्णमा अनुबाद हुन जरुरी छ
म छाता चोक पुग्न चाहन्छु
तर हामी
चारकोसे झाडीबाट तरहरातिर गइरहेका छौं
म अब यो बाटो मोड्छु
मलैइ कौरबका फौजको कुनै पर्खालले छेक्न सक्दैन
म चक्रब्यूह तोड्छु ।

(०४७/१/१७)

No comments:

Post a Comment