रुखमा निन्द्रा पाकेको छैन

- स्व. बिमल गुरुङ

रातभरि
प्रतिपक्षी सेनाहरुसङ्ग लड्दा लड्दा
रुखमा निन्द्रा पाकेको छैन ।

हातले भक्कु रगड्दा
निस्केका
मयलका टुक्रा जत्रै थिए ती सेनाहरु ।

ती सेनाहरु झ्याम्म उज्यालो नभएसम्म
युद्ध मैदानमा दौडिरहन्थे
ती सेनाहरु
झ्याम्म अंध्यारो नभएसम्म
आफ्नो दुलोमा टाँस्सिइरहन्थे
या त
दुलोको वरिपरि घुमिरहन्थे/थन्किरहन्थे ।

सूर्यमा
टाँसिंदा/ अल्झिंदा/ अड्किंदा
अनि
यस्तै थोकहरु हुँदा
बौद्धमार्गीहरु आत्मदाह गर्न अग्नीमा हामफाले झैं
सेनाहरु डढेर जान्थे
सेनाका
हरिया कपडाहरु पग्लिएर जान्थे
गोबर जस्तो गन्हाउने भएर जान्थे
रातभरि सेनाहरुसित
लड्दा लड्दा रुखमा निन्द्रा पाकेको छैन
हातमा संसार आएकै छैन
खुट्टाको नेलकडी टुटेकै छैन ।

No comments:

Post a Comment