मोदनाथ प्रश्रीतको भाषण

नेपाली टोपी
पुरानो ज्याकेट
फ्याङ्ल्याङ सुरुवाल
छालाको कालो जुत्ता
खाइलाग्दो शरिर
होचो कदको मान्छे
तर बिचार अग्लो ।

चिच्याउँदैनन् उनी
हिटलर जस्तो
गर्दा भाषण
न कलम भाँच्छन्
न कार्पेट टोक्छन्
उनी हामीलाई
सुस्त शब्दका डोरीहरुले
मीठो एकाग्रतामा बाँध्छन्
उनको भाषण एकचित भएर सुन्छन्
बुढो आकाश
बुढो बादल
फूलका कलिला मुनाहरु
भर्खरै, आँप दिन थालेका आँपका बोटहरु
अधबैसे बर र पिपल ।

उनी ब्यंग्य हान्छन्
र, मेरो ओंठका लोकमा
मुस्कुराहटको मिठो रेल कुद्छ
उनी जब बोल्छन्
हजारौं तानीका गड्गडाउँदा रथहरु
समुन्द्रबाट आउँछन्
उनी जब बोल्छन्
चराहरु पनि एउटा हाँगामा भेला भएर
कान ठाडो पारेर सुन्छन्
उनी जब बोलिसक्छन्
फेरि एकपल्ट
शिखरबाटै ओइरिएर
तालीका बाढीहरु
आफ्नो योद्धालाई अभिनन्दन गर्छन् ।

No comments:

Post a Comment