आजकल मेरो देशमा कर्फ्यू लागेको छ

- स्व बिमल गुरुङ

उज्यालो अझै भएको छैन
रात, अझै सकिएको छैन
बाटाभरि
खैरा बकुलाहरु छाडिएका छन्
उन्मुक्त भएर
बाटामा गीत गाउँदै हिंड्न पाईदैन
चाडपर्बहरु मनाउन पाईदैन
देउसी भैलो खेल्न पाइदैन
ब्यथाहरु मनभित्र सांच्नु पर्छ
यो बुद्ध चोकमा
आजकल मारामार छ
काटाकाट चल्छ
यता हेर्‍यो सुंगुर ढालेको छ
उता हेर्‍यो भैंसी काटेको छ
उफ् ! मासुको गन्ध !!
आजकल मेरो देशमा कर्फ्यू लागेको छ !

स्वास्नी कराउँछे/ कचकच गर्छे
कराउँछे - चोलो फाटेको छ/ पछेउरा फाटेको छ
यस्तो फाटेको छ / उस्तो फाटेको छ
हेर्छु,
सांच्चै !
स्वास्नीको चोलो ठाउँठाउँमा
टालेको छ
केहि भन्दैन बिचरा ज्ञानी छ लाले
बरु घाउमा माटो हाल्छ
कसैलाई केहि भन्दैन घाउको बारे
बिचरा लालेको
गोडाको घाउ पाकेको छ
आजकल मेरो देशमा कर्फ्यू लागेको छ ।

सेता दौरासुरुवालहरु
आमाको मासु काट्दै गोदाम भरिरहेछन्
उनीहरु
जालोमा परेको झिंगालाई खेलाउँदै सन्ठी बनैरहेछन्
देशको नाम लेख्नु
यहाँ अपराध हो
मुखको ओडारबाट
शब्दहरु बाहिर उडाउनु
यहाँ गैरकानूनी हो
सेता दौरासुरुवालहरु
यहाँ
मान्छेको टाउको
नाघ्ने बाजी खेलिरहेछन्
हांसिरहेछन्/रमाइलो मनाईरहेछन्
मजा गरिरहेछन्
छिल्लिएका गफहरु हांकिरहेछन्
हेर्छु,
आजकल बाटातिर
मान्छेहरुले
सेता दौरा सुरुवालहरु छदेका छन्
सम्झन्छु
सेता दौरा सुरुवालहरुले
मेरा बाउहरुलाई
धेरै पल्ट ढांटेका छन्
सेता दौरा सुरुवालहरुले
धेरै पल्ट
मान्छेको टाउको नाघेका छन्
आजकल मेरो देशमा कर्फ्यू लागेको छ ।

(०४६/१०/२३)

No comments:

Post a Comment