पानी

- स्व बिमल गुरुङ

निरंकुश हावाहरु !
म तिमीहरुलाई चुनौती दिन्छु
कि तिमीहरु
धारिलो झोंकाहरु बोकेर बज्र !
तर, शिरिषका रुखहरु
शिर नझुकाई उभिरहन्छन्
पुलिसका जुत्ताहरु
पानीलाई हिर्काइरहेछन्
पानीहरु बगिरहन्छन् ।

निरंकुश बहिराहरु !
पागल भएर
तिब्र यातनाहरु बोकेर बज्र !
पुरिन्छन् तर
चट्टानहरु झुक्दैनन्
नब्बेवटा घामहरु निस्केर
टन्टलापुर घाम लागिरहेछ
अत्याधिक
तापले तप्त
शरिर पोलिरहेछ
खल्खल्ती पसिना आइरहेछ
घामको तापले कोठाभित्र लगेर पहाडहरु बस्दैनन् ।

निरंकुश पत्थरहरु !
बन्दुकको कुँदाले खांदिराख
तर, पानीहरु सगरमाथा बेच्दैनन्
बरु, पानीहरु मरिरहन्छन्
तर !
पानीहरु कहिल्यै सकिंदैनन्
आकाशबाट
पानीहरु
फेरि परिरहन्छन् ।

(०४६/१०/२२)

1 comment:

  1. साँच्चै! कविता जस्तो जीउँदो कविता !म जस्तो क्रान्ति प्रेमीलाई मनपर्ने सशक्त विम्बहरु बोकेको कविता ।बाँचुञ्जेल उहाँलाई पढ्न नपाउँनु दुखद कुरा!

    ReplyDelete