मनकुमार

हो मान्छु मनकुमार
तिमीलाई
धेरै दुख परेको छ
मान्छेहरु भन्छन्
पत्झड सकिएर बसन्त आयो
त म सोध्छु
मनकुमारको जीवनमा
बसन्त कहाँ आयो?
तिमी कोठामा बिशाल ब्यथा पोखिरहेछौ
बाहिर केटाहरुलाई दशैं लागिरहेछ
तिमी कोठामा रोइरहेछौ
बाहिर केटाहरु नारायण गोपालको
'एउटा मान्छेको' गाइरहेछन्
ठान्छन् मान्छेहरु
ठान्छु म
तिमी रक्स्याहा
तिमी जँड्याहा
त, तिमी रोइरहेछौ
म बुझिरहेछु
तिमीलाई
धेरै दुख परेको छ
पैतालामा धुलोको टाटा बसेको छ
तिम्री रोगी श्रीमति
आँखाभित्र आँसुको समुन्द्र राखेर
बच्चालाई दुध चुसाइरहिछन्
बाहिर केटाहरु आनन्द मानेर
गितार बजाइरहेछन् ।
मनकुमार !
तिमी आत्महत्या नगर ।

No comments:

Post a Comment