म सिरक भित्रको बन्दी

नीलो आकाशमा
चपक्क टाँसिएको सेतो चन्द्रमा
निसास्सिने बिभत्स वातावरणले रुझेका,
आफ्नो प्रतिबेदन पेश गर्दै आफूलाई
अतितका पाइलाहरु खोज्दै
धरतीका तलाउहरु आँखाभरि भरि राखेर
माटोको कन्तुरबाट पैसा चोरेर
झिकेको आरोपमा मुछिएर
सिमलीको लठ्ठीले
भिषण चुटाई खाएको अबोध बालक झैं
चिच्याउँ लाग्छ बेजोडले
कहिलेकाहिँ धरतीमा कम्पन आउने गरी
धरती आफै बोल्दैछ !

पृथ्वी गोलो छ्
आकाश नीलो छ
हाइड्रोजन र अक्सिजनको सम्मिश्रणले पानी जन्मन्छ
सत्यार्थ पाठमा बाँधेर
घाँटीका हरिया नशा नशाहरुमा
क्याक्टस उम्रेको सुख्खा मरुभुमि खोदलेर
शुल त्रीशुलले
निर्दल घोचिएका
छिया ... छिया ... क्षत बिक्षत भएर
कुनै अधबैसे पागल झैं प्रलाप पढिरहेका छन् ।

ऐजिनियादेखि
प्यालेष्टाइनसम्मको
गृहयुद्धहरुमा बाँचेर
अनि,
फाँसीका तख्ताहरुमा मृत्युदण्डहरु भएर
अनि,
आस्थाका : सागरहरु बोकेका
आस्थाका : हिमालहरु अँगालेका
आस्थाका : पर्खालहरु समातेका
ढुँगेयुगका बर्षहरुदेखि
नधोइएको कत्लै कत्लामा बाँचिरहेको
सिरकभित्रको बन्दी आत्मा
भ्यागुताहरुको साम्राज्य
अर्थात कुवामा अगेना खोजिरहेको छु ।

No comments:

Post a Comment