चे ग्वेभारा तिम्रो हत्यामा

खुसाएका छन्, चे !
तिम्रो हत्यामा पृथ्वीका ईश्वरहरु खुसाएका छन् ।
तिम्रो हत्यामा
नेविन र निक्सनका कोमल पत्नीहरु खुसाएका छन् ।
खुसाएका छन्
तिम्रो हत्यामा
निक्सनका चटारिएका नक्कली छोरीहरु खुसाएका छन् ।

मरे पनि तिमी
करोडौं करोडौं दासहरुले तिमीलाई मुटुभरि
सम्झिइरहने छ्न्
तिमीलाई जिन्दगीभर अर्काको माल बोकेर
बूढो भएका झोलाहरुले सम्झिरहने छन् ।
तिमीलाई खूनीहरुका खुट्टा बोकेर सडकमा चिप्लनुपर्ने
मोटरका पाङराहरुले सम्झिरहने छन् ।
तिमीलाई संधै अर्काकै इच्छा अनुसार चल्नुपर्ने, बन्द हुनुपर्ने
पंखाहरुले सम्झिरहने छन्
तिमीलाई एटलाण्टिक छेउमा
घाम तापेर बसिरहेका
अर्जेण्टिनाका हरिया घाँसहरुले सम्झिरहनेछ्न् ।

रिसाएका छन्
तिम्रो हत्यामा ईंटाहरु रिसाएका छन् ।
रिसाएका छन्
तिम्रो हत्यामा बजारको बीचमा
छाती ठोक्दै चार्वाकहरु रिसाएका छन् ।
रिसाएका छन्, तिम्रो हत्यामा कमिलाहरु रिसाएका छन्
तिम्रो हत्यामा म रिसाएको छु ।
तिम्रो हत्यामा बर्षाको पानी जस्तै म रोएको छु ।
तिम्रो हत्यामा आगोजस्तै म बलेको छु ।
चिच्याइ दिएको छु कि
खेतको आलीमा गएर सर्दूपारिको पहराहरुलाई कि
उसले छडेर गएको बन्दुक अब मैले समाएको छु ।

No comments:

Post a Comment