आकाशबाट ताराहरु टिपेर

यसबेला म हेरिरहेछु
तिमी टेबलमा झुकेर किताब पल्टाईरहेछौ
समाएर कलम
तिमी कपिमा लेखिरहेछौ

यो टाढाको कौसीबाट म हेरिरहेछु
ध्यानमग्न भएर हेरिरहेछु
एकटक लगाएर हेरिरहेछु ।

तार चम्किरहेछ
चिसो हावा चलिरहेछ
तिमी पुस्तकबाट अक्षरका फूलहरु टिपिरहेछौ
तिमी
आकाशबाट ताराहरु टिपेर कपिमा रोपिरहेछौ ।

चट्टान जस्तो आकाशमा

कहाँ हुन्छ पर्खेर त्यसरी
पर्खनुपर्छ
केहि समय उभिनुपर्छ
तर, हुन्छ सिमा सबैको
बादलहरुको किनारामा बसेको
चट्टानजस्तो आकाशहरुमा बगिरहेको
सिरेटोले के साउती मार्दैछ तिम्रो कानमा?
याद भएन?
कहाँ हुन्छ पर्खेर त्यसरी,
त्यसरी त रात पर्छ,
कामहरु अझै थुप्रै
खेतमा,करेसामा, चुलामा
कहाँ हुन्छ पर्खेर त्यसरी
ढिलो भइसक्यो
अब त
हतार-हतार डल्ला ठोक, ठोक्नुपर्छ ।

भत्किएको पंखा: भत्किएको सौन्दर्य

असंख्य मान्छेका
असंख्य कुर्सीहरुमा
म पनि बांच्दै
लंगडो एउटा पँखा
करैकरमा नृत्य प्रदर्सन गरिरहेछ
भत्किएको सौन्दर्यमा विहुल बाँधेर
धरहराबाट हामफाल्न आँटेकी
कुनै शोकाकुलग्रस्त
कुनै स्वस्नीमान्छे झैं
आँखामा 'बैकाल' सजाएर
ढुंगाहरुमा
अनायस ठेस खाएर
रोकावटहरुलाई पानीका धारले खियाएर
नदी झैं सुसाउँदै
भत्किएको पंखा
बाँगिएर बुपरित देशामा मोडिएका धर्साहरु
सिधा पारेर
आफ्नो सौन्दर्यता स्थापित गर्न खोज्दै
मेकरुमको लाम्चो ऐनाको
सामुन्ने पुग्न खोज्दैछ
तर असफलताका परिणामका लिष्टहरु
मात्र निस्कन्छन्
असफलताका परिणामका लिष्टहरु मात्र निस्कन्छन्
भत्किएको लंगडो पंखा
भत्किएको सौन्दर्यको
भयावह
बिभत्स चित्रको स्मरणमा
डुबुल्कि मार्दामार्दै
किन हो कुन्नि?
एक्कासी
ठूलो आवाज चिच्याउँदै कहालिन खोज्दैछ
सायद,
चरमबिन्दुमा पुगेका उग्रब्याधाहरु
ऊ दबाउन खोज्छ
तर, प्रयासहरु अनुत्तिर्णको पर्खालमा पछारिन्छन्
मात्र पछारिन्छन्
प्रयासहरु अनुत्तिर्णको पर्खालमा पछारिन्छन्
सुस्केराका लामा-लामा क्षणहरु निर्यात गर्दै
घरी-घरी
खुट्टाको बुढीऔंलाले माटो कोट्याउँदै
लंगडो अपांग पंखा झोक्रैरहेछ !!
रक्सीको बन्द बोतलभित्र !!!

प्रेमिकालाई

(मात्र काल्पनिक)
मलाई थाहा छैन
देखेको त पहिले नै हो
कहिलेदेखि तिमीप्रति
मेरो मुटुमा प्रेमको मुना जन्मिएछ
मैले देखेको छु तिमीलाई
सडकमा दोकानको अगाडी
र मैले देखेको छु तिमीलाई
हुलाकघरको अगाडी
तिमीसंग बोल्ने
चाहना
उर्लिएर आउँछ भित्रैबाट
तर, मौका मिलेको हुँदैन
हो, मेलेको पनि थियो
तर,
खै के भएर हो !
तिमीलाई टाढैबाट देख्नेबित्तिकै
अनुहार रातो भएर आउँछ
अनुहार
हो यहि अनुहार रातो बहेर आउँछ
यसपछि
मौका मिलेपनि
खै के गर्ने !?
मुखबाट बोलि फुट्दैन
अवाक् ! अवा ... क् ! अ ... वा ... क् !!!
मौका पर्नसके
एकदिन
तिमीलाई
आँखाको परेलीमा राखेर भन्ने छु
म तिमीलाई प्रेम गर्छु ।

ठण्डा बन्दी सूर्य

क्रमश:
खोपडी साटफेर खेलाउँदै
रोबोटको कालो प्रदेशमा स्थगित राखेर
महत्वाकांक्षा बोकेर,
बिश्वसनीय अभियानको शुरुवात थाल्ने
निसंकोच ट्युबमा अवतार जन्माउन सक्छ !
हिटलर, नेपोलियन र मुसोलोनी मस्तिष्कहरु !!
तर,
आइसबकसमा तीब्र यन्त्रणाहरुको
नदीको प्रवाह घँचेट्न खोज्दै उल्टो
बन्दीको नाता जोड्दा सूर्यमा
अनुबादित ठण्डा गर्भधारण बगेको छ ।।?!
धरान ।

करङमा झुण्डिएको अभिशप्त जिन्दगी

जीर्ण-जीर्ण
करङहरुमा
अभिशप्त जिन्दगीहरु
उँधोमुण्टो एकनाश-एकनाश
झुण्ड्याएर
अपुताली क्षितिज
नपुंसक आकाश
असिनपसिन च्याइरहेछु,
नवोदित कालो पर्दालाई परेलीको बाटोबाट

स्वस्नीले भांडाकुँडा
बिक्रयमा अनुबाद दर्ता गरेर
आएका कागजी खोस्टाहरुको
स्मरण करेण्टहरुमा आइरहन्छ
अनवरत स्मरणपटलमा
अब्यक्त ब्यथा र आक्रोशहरुको
भीषण पहिरो गइरहन्छ
निमेष निमेषमा गइरहन्छ ।

खटखटाहट

ग्यास च्याम्बरीय बिबशताको अस्तित्वलाई
छडको
उत्तरीय
चकलेटी
झ्याल खट्खटाउँदै,
अनवरत
अबिरल
सर्वाङ्ग, निरस रातमा ।